Sunday, February 16, 2014

एसीसी वुमेन्स क्रिकेट : नेपाल र चीन आज भिड्दै





    अभ्यास गर्दै शनिबार नेपाली खेलाडी ।     तस्बिर सौजन्य : एनएसजेएफ
    अभ्यास गर्दै शनिबार नेपाली खेलाडी । तस्बिर सौजन्य : एनएसजेएफ
    काठमाडौ, फाल्गुन ४ - नेपालको उत्कृष्ट दुईमा पर्दै एसीसी वुमेन्स पि्रमियर क्रिकेटको फाइनल खेल्ने सम्भावना आइतबार हुने चीनविरुद्धको खेलले तय गर्नेछ । अहिलेसम्म अपराजित चीनलाई हराएमा नेपालको शीर्ष दुईमा पर्न सहज हुनेछ । प्रतियोगितामा चीन र थाइल्यान्डलाई बलिया दाबेदारका रूपमा लिइन्छन् ।
    चीन पछिल्लो समय महिला क्रिकेटमा उल्लेख्य प्रगति गर्दै बलियो टिमका रूपमा प्रस्तुत भएको छ । उसले नेपालसामु दरिलो चुनौती पेस गर्ने पक्का छ । सन् २००७ मा नेपालले सहभागिता जनाएको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल चीनसामु बलियो देखिएको थियो । एसीसी वुमेन्स च्याम्पियन्सको उपविजेता नेपालले त्यसबेला चीनलाई नौ विकेटले हराएको थियो । तर सन् २०१२ मा गोन्जाउमा भएको बुमेन्स ट्वान्टी-ट्वान्टी एसिया कपमा भने नेपाललाई चीनले ४५ रनले हराएको थियो । त्यसैले नेपाल यसपटक त्यसको बदलाको खोजीमा हुनेछ ।
    दुवै टिमका लागि यो ४० ओभरको पहिलो प्रतियोगिता हो । नेपाली खेलाडीले आफ्नो स्वाभाविक प्रदर्शन गरेमा चीनविरुद्धको जित गाह्रो देखिंदैन । तर, नेपाली टिमले प्रतियोगितामा एकरूपको प्रदर्शन गरेको छैन । पहिलो खेलमा इरानविरुद्ध सहज जित हासिल गरेको नेपाली महिला टिमले दोस्रो खेलमा थाइल्यान्डविरुद्ध बिर्सनलायक प्रदर्शन गर्‍यो । तेस्रो खेलमा भुटानविरुद्धको जित पनि सोचेजस्तो सहज हुन सकेन । चीनले भने भुटान, इरान र हङकङमाथि जित हासिल गरिसकेको छ ।
    नेपाली कप्तान रुविना क्षेत्री पनि थाइल्यान्डको चियाङमाइस्थित जिमखाना मैदानमा हुने खेलका लागि उत्साहित देखिन्छिन् । 'हाम्रा लागि यो खेल महत्त्वपूर्ण रहेको छ, यसमा जितसँगै रनरेट बढाउनु हाम्रो उद्देश्य रहनेछ,' रुविनाले भनिन्, 'चीनले भुटानसँग राम्रो खेलेन तर जस्तो टिम उस्तै खेल प्रदर्शन गर्ने हुनाले हामीले हल्का रूपमा लिएका छैनौं ।' उनले चीनको भुटानविरुद्वको खेल हेरेर खेलाडीमा आत्मविश्वास बढेको उल्लेख गर्दै चीनलाई पराजित गर्न सक्ने क्षमता रहेको बताइन् । 'प्रशिक्षक उमेशराज उपाध्यायले चीन र नेपालको स्तर उस्तै रहेको बताए  । 'हामीले रनरेट उकास्नु पनि छ, त्यसैले कुनै पनि हालतमा जित्नुपर्छ,' उमेशले भने, 'चीनको बलिङ हाम्रोभन्दा अलि कमजोर देखिएको छ, त्यसको फाइदा उठाउन सक्नुपर्छ ।' उनले सुरुआती आठ ओभरमा धेरै रन जोड्न सक्नुपर्नेमा जोड दिए ।

    प्रकाशित मिति: २०७० फाल्गुन ४

    No comments:

    Post a Comment