काठमाडौ, असार २५ - प्रमुख चार राजनीतिक शक्ति, सरकार र असन्तुष्ट नेकपा- माओवादी तीनै पक्ष सर्वपक्षीय गोलमेचमा बस्न तयार भएका छन् । असन्तुष्ट माओवादी र अन्य मोर्चालाई समेट्न सरकार र दलहरू गोलमेचका लागि आन्तरिक छलफलमा समेत जुटेका छन् ।
नेकपा-माओवादीले वार्ता अघि बढाउन अध्यक्ष मोहन वैद्यको नेतृत्वमा सोमबार टोली गठन गरेको छ । उच्चस्तरीय राजनीतिक समितिका संयोजक विजयकुमार गच्छदारले माओवादी टोलीसँग 'चाँडै' वार्ता हुने बताएका छन् ।
सरकार गठनयता वार्तामा बस्न अस्वीकार गर्दै आएको माओवादी गोलमेचबाट मुलुकको संवैधानिक एवं राजनीतिक संकट फुकाउने भन्दै वार्तामा बस्न तयार भएको हो । माओवादीले सर्वपक्षीय राजनीतिक गोलमेच सभा, दलीय सहमतिका आधारमा संयुक्त सरकार र सहमति नहुन्जेल निर्वाचन प्रक्रिया स्थगनका माग गर्दै आएको छ ।
'तर वार्तामा निःसर्त आउनुपर्छ,' पार्टीका पछिल्ला केन्द्रीय कमिटी र पोलिटब्युरोले गरेका निर्णय सार्वजनिक गर्दै अध्यक्ष वैद्यले भने,
'वार्तामा जानुअघि नै मंसिर ४ को मिति, वर्तमान सरकारको नेतृत्व नचलाइने भनेर सर्त राख्ने हो भने कुरा अघि बढ्दैन । जे कुरा हुन्छ वार्ताको टेबुलमै हुन्छ ।'
गोलमेचप्रति चार राजनीतिक शक्ति र अन्तरिम मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसमेत सकारात्मक देखिएका छन् । समितिका संयोजक गच्छदारसँग सोमबारको भेटमा रेग्मीले असन्तुष्ट माओवादी र अन्य मोर्चाप्रति लचकता अपनाई वार्ता गर्नेबारे छलफल गरेका थिए । रेग्मी निवास बालुवाटारमा भएको छलफलबारे गच्छदारले भने, 'गोलमेच वा जे नाम दिए पनि असन्तुष्टलाई चुनावमा ल्याउन सरकार र दलहरू सकारात्मक हुनुपर्छ । मन्त्रिपरिषद् अध्यक्ष (रेग्मी) पनि त्यसमा सहमत हुनुहुन्छ ।'
गच्छदारले माओवादी र अन्य असन्तुष्ट दललाई मंसिर ४ को चुनावमा सहभागी गराउनेबारे दुई/तीन दिनमै औपचारिक वार्ता हुने जानकारीसमेत दिए । एमाओवादी, कांग्रेस, एमाले, मधेसी मोर्चाका नेताहरू संलग्न समितिको पछिल्लो बैठकले असन्तुष्ट पक्षसँग लचकता अपनाई वार्ता गर्ने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष झलनाथ खनालले माओवादी र अन्य असन्तुष्ट पक्षलाई चुनावमा ल्याउन आफूहरू गोलमेचको तयारीमा रहेको बताए । 'हामी असन्तुष्ट दलहरूसँग नियमित सम्पर्क र सम्बन्धमा छौं,' मतदान केन्द्र सच्याउन सोमबार बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय आएका खनालले कान्तिपुरसित भने, 'आवश्यकता अनुरूप गोलमेच सम्मेलनको तयारीमा छौं ।'
सरकार र दलहरूसँग अनौपचारिक संवाद बढाइरहेको माओवादीले अध्यक्ष वैद्यकै नेतृत्वमा बनाएको ५ सदस्यीय वार्ता टोलीमा उपाध्यक्ष सीपी गजुरेल, महासचिव रामबहादुर थापा, सचिवद्वय देव गुरुङ र नेत्रविक्रम चन्द छन् ।
अध्यक्ष वैद्यले अहिलेको संकट समाधान र अग्रगामी निकासका लागि बिनासर्त पार्टी तथा आन्दोलनकारी ३३ दलसित समेत नयाँ राष्ट्रिय राजनीतिक सहमति गर्न खोजिएको हो भने आफूहरू सबै विषयमा वार्ताका लागि टेबुलमा खुला छलफल गर्न तयार रहेको जानकारी दिए । आफ्ना माग सुनुवाइ नभए मंसिर ४ मा हुने भनिएको संविधानसभा चुनावको सशक्त बहिष्कार गर्ने उनले बताए ।
'संविधानसभाको निरपेक्ष विरोध हामीले गरेका होइनौं,' पार्टी निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा वैद्यले भने, 'साँच्चै जनताको संविधान बन्नुपर्छ भन्ने हाम्रो अडान हो । पहिले जुन कारणले संविधान बनेन त्यसैलाई मिलाएर मात्र निर्वाचनमा जाऔं भन्ने हाम्रो भनाइ हो ।' उनले आफूहरूले राजनीतिमा लचकता अपनाएको भन्दै वार्तालाई 'लचकताको कार्यनीति' को संज्ञा दिए ।
माओवादीले वार्ता चार दल र सरकार दुवैसँग हुन सक्ने जनाएको छ । यसअघि सरकारलाई 'कठपुतली' को संज्ञा दिँदै वार्तामा नबस्ने माओवादी नेताहरूले बताउँदै आएका थिए । आफूसँग मात्र नभई ३३ दलको संयुक्त मोर्चा र बाँकी दलहरूसित समेत वार्ता गरी समाधान खोज्नुपर्ने वैद्यको सुझाव थियो ।
वार्ताका लागि टोली गठन गरेकोमा सरकारले स्वागत गरेको छ । 'वार्ताबाट मुलुकका समस्या हल गर्न उहाँहरू (माओवादी) तत्पर भई टोली गठन गर्नु सकारात्मक कुरा हो, यसलाई सरकारले स्वागत गर्छ,' मन्त्रिपरिषद्का प्रवक्ता एवं सञ्चारमन्त्री माधव पौडेलले कान्तिपुरसँग भने ।
माओवादीले वार्तासँगै चुनाव बहिष्कारको कार्यक्रमलाई समेत सँगै सार्वजनिक गरेको छ । आउँदो साउन १० देखि प्रचारात्मक रूपमा आन्दोलन थालनी हुने उसले जनाएको छ । ३३ दलीय मोर्चाभित्रकै किशोरकुमार विश्वासले नेतृत्व गरेको संघीय जनतान्त्रिक राष्ट्रिय मोर्चासहित अन्य गठबन्धनले भने माओवादीले एकात्मक ढंगले निर्णय गरेको आरोप लगाएका छन् । उनले ३२ दलले दलीय सर्वोच्चताका लागि आन्दोलन जारी राख्ने बताए ।
प्रकाशित मिति: २०७० असार २५
- See more at:https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY
No comments:
Post a Comment