काठमाडौ, असार २० - सरकारले दूधमा अखाद्य पदार्थ भेटिएका साना उद्योगलाई कारबाही गरे पनि ठूलालाई उन्मुक्ति दिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको अनुगमनमा १३ डेरीको दूधमा कोलिर्फम पाइएको थियो । तीमध्ये साना ६ उद्योगमा सिलबन्दी गरेर कारबाही गरे पनि विभागले ठूला उद्योगलाई बयानसमेत लिन सकेको छैन ।
विभागले बयानका लागि पत्राचार गरे पनि राजधानीको ८० प्रतिशत बजार ओगटेका डीडीसी, सीताराम, नेपाल डेरी र सामूहिक कृषक डेरी उपस्थितै भएनन् । उनीहरूलाई ३ र ११ गते दुई पटक पत्र काटिएको विभागका प्रवक्ता प्रमोद कोइरालाले जानकारी दिए । 'सरकारी पत्रको बेवास्ता गरेर गैरजिम्मेवार बनेका छन्,' उनले भने, 'उनीहरूलाई के गर्ने भन्ने निर्णय भइसकेको छैन ।' http://www.youtube.com/watch?v=xmpNPgUvoxY
नमुना परीक्षणका क्रममा प्रतिएमएल २ हजार ४ सयभन्दा बढी कोलिर्फम पाइएको भक्तपुरको खरिपाटी, सैंजू, भक्तपुर डेरी, सञ्जीवनी काठमाडौं आधुनिक डेरीमा सिलबन्दी गरिएको थियो । यी उद्योग सञ्चालकलाई मुद्दा दायर गरी जिल्ला प्रशासनले साढे २८ हजार धरौटीसमेत लिएको छ । अन्तिम फैसला हुन बाँकी छ । त्यस्तै, खाद्य अनुज्ञापत्र नलिई सञ्चालन गरेको र कोलिर्फम भेटिएकाले ललितपुरको आइडिडा प्लसमा पनि सिलबन्दी गरिएको थियो ।
नियमअनुसार दूधमा कोलिर्फमको मात्रा शून्य हुनुपर्छ । तर परीक्षण गरिएका १३ वटैमा कोलिर्फम पाइएको थियो । तिनमा डीडीसीको नीलो, सामूहिक कृषि डेरीको सुलभ, सीताराम, नवप्रभातको प्रभात, आइडिया प्लसको ह्याप्पी, नेपाल डेरीको इन्डिज, कालिका डेरीको केडीसी, राजधानी डेरीको आरडीसीको दूधसमेत छन् । यिनीहरूलाई भने विभागले कुनै कारबाही गर्न सकेको छैन । यीमध्ये राजधानी, कालिका, नवप्रभातले गल्ती स्वीकार्दै बयान दिएका छन् । उनीहरूविरुद्ध मुद्दा दर्ताको प्रक्रियामा रहेको विभागले जनाएको छ ।
डीडीसीका महाप्रबन्धक सियाराम सिंहले विभागको पत्र नपाएकाले बयानका लागि नगएको दाबी गरे । 'सरकारी पत्रको बेवास्ता गर्ने कुरै आउँदैन,' उनले भने, 'पत्र नआएको हुन सक्छ ।'
कारबाही भोगेका डेरी सञ्चालकले भने विभागले पक्षपात ढंगले कारबाही गरेको आरोप लगाएका छन् । 'विभागले कारबाहीमा विभेद गरेको छ,' विभागले सिलबन्दी गरेको एक डेरीका सञ्चालकले भने, 'नियममा कोलिर्फमको मात्रा शून्य हुनुपर्नेमा परीक्षण गर्दा सबै डेरीमा भेटिएको थियो । त्यसैले सबैलाई समान कारबाही हुनुपर्छ ।' विभागले पक्षपातपूर्ण ढंगले विवेकको अधिकार प्रयोग गरेको आरोप साना डेरीवालाको छ । 'हामीलाई सिल लगाएर धरौटी लिइएको छ, केहीलाई सोधपुछैै गरिएको छैन,' ती सञ्चालकले भने । अनुगमनका नाममा पैसाको चलखेल भएको आरोप कारबाही भोगेका अर्का डेरी सञ्चालकले लगाए । 'यसको छानबिन हुनु जरुरी छ,' उनले भने ।
विभागकी महानिर्देशक जीवन प्रभा लामाले ठूला र साना भन्ने भेदभाव नगरी कारबाही हुने दाबी गरिन् । 'नियमअनुसार ढिलोचाँडो सबैलाई कारबाही हुन्छ । कसैले उन्मुक्ति पाउँदैन,' उनले भनिन्, 'तीन पटक पत्र काट्दा पनि नआए सीधै सरकारी वकिलकहाँ मुद्दा पठाउँछौं ।' डेरी सञ्चालकहरूसँग बयानका लागि आउन आग्रह गर्दा चिठी नपाएको जवाफ दिने गरेको उनले बताइन् ।
विभागले असार ३ गते सूचना जारी गरेर पाँच उद्योगका दूध सेवनमा समेत रोक लगाएको थियो । अहिले यी उद्योग सञ्चालन गरी दूध बजारमा लैजान अनुमति दिइसकेको छ । खान अयोग्य भनेर सूचना जारी गरे पनि पुनः परीक्षणसमेत नगरी बिक्री गर्न दिइएको छ । कोलिर्फमको मात्रा शून्य गराउने प्रतिबद्धता गराएर उद्योग सञ्चालन गर्न अनुमति दिइएको प्रवक्ता कोइरालाले बताए । विभागले दूध परीक्षणका लागि ल्याउनुपर्ने अर्को सर्तसमेत राखेको थियो । तर, खरिपाटी डेरीबाहेक अन्यले पुनः परीक्षणका लागि नमुना लगेका छैनन् ।
प्रकाशित मिति: २०७० असार २०
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment