Monday, June 24, 2013

घोषित पुरस्कारै पाएनन् खेलाडीले

दीपक बिष्ट

काठमाडौ, असार ११ - दक्षिण एसियाली खेलकुद -साग) मा चार स्वर्ण पदक जितेका दीपक बिष्ट र तीन स्वर्णधारी बैकुण्ठ मानन्धरलाई दस महिनाअघि बधाईको ओइरो लाग्यो । बाबुराम भट्टराई नेतृत्वको तत्कालीन सरकारले  ११ असोज ०६८ मा गरेको निर्णय बधाईको कारण थियो । त्यस अनुसार उनीहरू २५-२५ लाखका हकदार भएका थिए ।
बिष्ट र मानन्धर त दंग भए नै, मन्त्री, उच्चपदस्थ व्यक्ति, साथी र नातेदारको बधाई थापेरै भ्याएनन् । जितेका पदक प्रमाणित गरेपछि उनीहरूलाई पुरस्कार उपलब्ध गराउन राष्ट्रिय खेलकुद परिषद्ले २ पुसमा युवा तथा खेलकुद मन्त्रालयलाई सिफारिस गर्‍यो । फाइल अर्थ मन्त्रालय पुग्यो । तर, कार्यान्वयन भएन ।  घोषित पुरस्कार नपाएको भन्दै २ जेठमा परिषद्ले फेरि सिफारिस पठायो । तर अहिलेसम्म प्राप्त भएको छैन ।
'पुरस्कारबारे भाषण नै गरियो । धेरैले बधाई दिए । तर हामीलाई फाल्तु बनाइयो,' मानन्धरले दुखेसो पोखे, 'नदिने भए किन घोषणा गरेको ? ठूलो घात भयो ।'
०५६ मा कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले पनि त्यसै गर्‍यो । आठौं दक्षिण एसियाली खेलकुदको स्वर्ण विजेतालाई 'घडेरी' दिने घोषणा भयो, नेपालले ३१ स्वर्ण पनि जित्यो । तर, खेलाडीले घडेरी पाएनन् । 'घडेरीमा जस्तै २५ लाखमा पनि ठगिए जस्तो लाग्दैछ,' बिष्टले भने, 'उच्चपदस्थ व्यक्तिको बोली मात्र होइन, सरकारको निर्णय पनि फुस्रो आश्वासन बन्यो ।'
घोषित पुरस्कार नदिएर  योगदानको अवमूल्यन गरिएको परिषद्का सदस्यसचिव युवराज लामा बताउँछन् । 'मन्त्रिपरिषद् निर्णयको पनि अवमूल्यन भएको छ,' उनले भने, 'खेलाडी आन्दोलन गर्ने तयारीमा छन् ।' अर्थ मन्त्रालयबाट रकम निकासा नभएकाले पुरस्कार नपाएको युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता बैकुण्ठ काफ्लेले बताए । 'सरकारको निर्णय हो भन्दै यही साता फेरि अर्थलाई पत्र पठाएका छौं,' उनले भने ।
तेक्वान्दो खेलाडी बिष्ट सागमा लगातार ४ -सन् १९९९, ००४, ००६ र ०१०) स्वर्ण जित्ने कीर्तिमानी हुन् । उनले एसियाली खेलकुदमा पनि २ कांस्य जितेका छन् । म्याराथन धावक मानन्धरले सागको सुरुका ३ संस्करण (सन् १९८३, १९८५ र १९८७) मा स्वर्ण जितेका थिए भने चौथो सागमा कांस्य हात पारेका थिए । कोलकातामा भएको तेस्रो सागमा उनले बनाएको २ घन्टा १५ मिनेट ३ सेकेन्डको दक्षिण एसियाली कीर्तिमान हालसम्म कायमै छ ।
प्रकाशित मिति: २०७० असार ११
- See more at: https://www.facebook.com/nepalinewss
http://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:

Post a Comment