काठमाडौ, असार १४ - लामो समय र विभिन्न विवादपछि अन्ततः नेपाल वायु सेवा निगमले दुई एयर बस किन्न बिहीबार सम्झौता गरेको छ ।
झन्डै पाँच वर्षको बहस र विवादपछि बिहीबार एयर बस कम्पनीका सिनियर सल्स डाइरेक्टर सिल शुक्ल, सेल्क कन्ट्याक्ट्स डाइरेक्टर रोव गर्डन र निगमका महाप्रबन्धक मदन खरेल र संस्थागत विकास निर्देशक गणेशबहादुर चन्दबीच जहाज किन्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि निगमले जहाज किन्ने निश्चित भएको छ ।
यी जहाज सन् २०१५ को फेब्रुअरीमा र अर्को अपि्रलमा आइपुग्ने निगमले जनाएको छ । यी एयर बस आएपछि निगमको ठूला जहाज चार वटा हुने छन् । तर त्योभन्दा अघि नै निगमले दुई जहाज भाडामा ल्याउने तयारी तीव्र पारिसकेको छ ।
खरिद प्रक्रियाको विवाद र रकम जुटाउने समस्याले गर्दा निगमको जहाज किन्ने योजना आधा दशकदेखि अन्योलमा थियो । तर सर्वोच्चले खरिद प्रक्रियामा त्रुटि नभएको भन्दै बाटो खुला गरिदिएपछि र सञ्चय कोषले १० अर्ब रुपैयाँ ऋण सहयोग गरेपछि निगमको योजनाले मूर्त रूप पाएको हो ।
निगमले २०६५/६६ मै जहाज किन्ने प्रक्रिया अघि बढाएको थियो । त्यतिबेला एउटा न्यारो बढी -सानो आकार) को र अर्को वाइड बडी -फराकिलो आकार) को जहाज किन्ने सम्झौता भएको थियो । सम्झौताअनुसार एउटा जहाजको क्याटलग मूल्य ७ करोड ५० लाख डलर थियो । पाँच वर्षपछि पनि एयरबसले उही मूल्यमा -उत्पादन लागत भने मूल्य वृद्धिका आधारमा बढाइने) जहाज दिन तयार भएको छ । एयर बसका मूल्यअनुसार अब दुवैका लागि १० अर्ब २ करोड रुपैयाँ तिरे पुग्ने देखिएको छ । व्यवस्थापनले भने सम्झौता रकम खुलाएको छैन । 'जहाज डेलिभरी हुने अन्तिम समयमा वास्तविक मूल्य थाहा हुन्छ,' महाप्रबन्धक खरेलले भने ।
निगमले खरिद प्रक्रियामा कुनै विवाद नआओस् भनेर एयरबससँग कुनै एजेन्ट नभएको ग्यारेन्टी पत्र लिएको पनि खरेलले बताए । 'पछि समस्या नआओस् भनेर चिठी मागेका हौं,' उनले भने ।
कुनै समयमा नेपाली आकाशमा एकछत्र राज गरेको निगमले झन्डै अढाइ दशकपछि ठूलो जहाज किन्न लाग्दै छ । हाल उडान गरिरहेका दुई बोइङ निगमले २०४३/४४ मा किनेको थियो । तर त्यसयता राजनीतिक चपेटामा परेको निगमको आकाश खुम्चँदै जानुका साथै प्रगतिमा समेत विभिन्न समस्या झेल्दै आएको छ । त्यसैले निगमले चाहेर पनि २५ वर्षदेखि जहाज थप्न सेकेको थिएन ।
'अब भने समस्या हैन, चुनौती थपिएको महसुस गरेका छौं,' निगमका महाप्रबन्धक खरेलले भने, 'जहाज छैन भन्ने समस्या हट्दै छ, अब कसरी निगमलाई माथि उठाउने भन्ने चुनौती छ ।' उनले अब निगमले कसैलाई दोष दिएर उन्मुक्ति नपाउनेसमेत बताए ।
सम्झौताअनुसार दुई वटै एयरबसहरू न्यारो बढीको हुने छ । यसले निगमले ४/५ घन्टाको दूरीमा सहज उडान भर्न सक्छ । निगमको लक्ष्य भनेको एसियाली र विशेषगरी रोजगार गन्तव्यमा मुलुकमा उडान गर्ने छ । 'निगमलाई आत्मनिर्भर र प्रतिफलमुखी बनाउने क्षेत्रमा उडान संख्या थप्ने छौं,' सम्झौतापछि खरेलले भने, 'विशेषगरी एसियाली मुलुकलाई लक्षित गर्ने छौं ।'
एक राष्ट्रिय ध्वजावाहकका लागि ४/५ जहाज हुनु ठूलो कुरा होइन । तर पनि बिहीबारको सम्झौतापछि निगम परिवारमा खुसीको लहर देखिन्थ्यो । 'लामो समयदेखि यति ठूलो कदम चालिएको थिएन,' खरेलले भने, 'त्यसैले यो सम्झौता हाम्रा लागि ठूलो उपलब्धि भएको छ ।' तर उनले यति मात्रले पनि निगमको लक्ष प्राप्त नहुने बताए ।
उनले निगमलाई थप उचाइमा पुर्याउन चाँडै नै दुई जहाज भाडामा ल्याउन लागिएको र पाँच वर्षभित्र दस जहाज पुर्याउने लक्ष्य रहेको जानकारी दिए ।
प्रकाशित मिति: २०७० असार १४
- See more at: https://www.facebook.com/nepalinewsshttp://www.youtube.com/watch?v=xmpNPgUvoxY

No comments:
Post a Comment